
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अंग दान गर्न सक्ने मानिसको खाँचो रहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रिय निर्वाचन आयोगले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मानव जातिको लागि रगतको आवश्यक्ता महत्वपूर्ण रहने भन्दै अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताए ।
उनले भने, ‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरुको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’
अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरुलाई रक्तदानका लागि अपिल समेत गरेका थिए ।











