Logo
Logo

अनेरास्ववियुको नेतृत्वमा नक्सा खारेज गर्न माग गर्दै भारतीय दूतावास घेराउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ कार्तिक । भारतले नेपाली भूमिलाई समेटेर सार्वजनिक गरेको नयाँ राजनीति नक्साको विरोध गर्दै सत्तारुढ विद्यार्थी संगठनले शुक्रबार प्रदर्शन गरेका छन् । उनीहरुले उक्त नक्सा खारेज गर्नुपर्ने माग गर्दै नेपालस्थित भारतीय दुतावास घेराउ गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुको नेतृत्वमा बिहान ११ बजेदेखि लैनचौरस्थित अमृत साइन्स क्याम्पस अगाडी भेला भएका विद्यार्थीले नारा जुलुस गर्दै दुतावासमा धर्ना दिएको हो । भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नै भूमिमा रहेको जनाएको थियो । उक्त नक्सा सार्वजनिक नेपालमा चर्को विरोध हुँदै आएको छ । विभिन्न विद्यार्थी संगठनहरुले उक्त नक्सा सच्याउन माग गर्दै आन्दोलनमा उत्रेका छन् ।


प्रदर्शनपछि आयोजित कोणमा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा तत्काल खारेज गर्नुपर्ने बताए । उनले भने, ‘अन्यथा जस्तो सुकै आन्दोलन गर्न पनि तयार छौँ ।’
भारतले नेपाली भूमि समेटेको नयाँ राजनीति नक्सा सार्वजनिक गरेसँगै विद्यार्थीले ‘गो ब्याक इन्डिया’मा ‘ह्यास ट्याग’ गरेर सामाजिक सञ्जालबाट अभियान समेत सुरु सञ्चालन गरेका छन् ।
प्रदर्शनमा उत्रिएका विद्यर्थीले लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, कागजी अतिक्रमण मुर्दावाद, कहिले बुद्ध कहिले सिमा, कसले गर्ने हाम्रो विमा लेखिएको नारा लगाउँदै प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।
भारतको नयाँ नक्सालाई लिएर सरकारले आफ्नो धारणा स्पष्ट गरिसकेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा ‘एकपक्षीय निर्यण मान्य नहुने’ उल्लेख गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्