Logo
Logo

माओवादीलाई कर्णाली प्रदेश सरकार निल्नु न ओकल्नु


4.1k
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार निल्नु न औकल्नु झैँ भएको छ । अहिलेको गठबन्धनसँग आवद्ध कांग्रेस र अघिल्लो गठबन्धनको दल नेकपा एमालेले विश्वासको मत दिएपछि सरकारको नेतृत्व गरेको माओवादीलाई निल्नु न औँकल्नु झैँ भएको हो ।

संघीय सरकारसँगै ६ वटा प्रदेशबाट बाहिरिएको एमालेले कर्णालीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि माओवादी झस्किएको छ । माओवादीले केन्द्रको सहमति अनुसार कर्णालीमा कांग्रेससँग छलफल गरेर सरकारमा ल्याउन गरिएका प्रयासहरु कांग्रेस पक्षबाट स्वीकार नहुँदा माओवादी नेतृत्वको सरकारले हैरानी ब्यहोनु परेको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले सबै दललाई सरकारमा ल्याइ मन्त्रालय समेत सबैले मिलेर चलाउने दाउँमा भएपनि त्यो चाहना पुरा हुन सकेको छैन । माओवादी र एमालेको भागमा परेको केही मन्त्रालय घटाएर कांग्रेसलाई सरकारमा सहभागी गराउने नीतिमा मुख्यमन्त्री शर्मा रहेका छन् ।

कांग्रेसलाई पटक पटक छलफलमा बोलाएपनि छलफलमा सहभागी हुन नमानेको माओवादीको आरोप लगाएको छ । मुख्यमन्त्री शर्मालाई विश्वासको मत समेत नदिन र केन्द्रको स्पीड अनुसार अगाडी बढन आग्रह गरिएपनि विश्वासको मत दिएर एमालेले अकै सन्देश दिन खोजेको नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए ।

शुक्रबार कर्णाली प्रदेश सभाको नवौँ बैठकमा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसले समेत मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको थियो । यद्यपि काँग्रेसले एमाले सत्तामा रहेसम्म आफू नै प्रतिपक्षको भूमिकामा रहने बताइरहेको छ ।

१० पुसको सहमतिअनुसार एमालेले अहिलेसम्म तीन वटा मन्त्रालयको जिम्मेवारीसहित सरकारमै छ । यसो हुनुका पछाडि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रष्ट निर्णय नगर्नु नै हो ।

माओवादीका कतिपय प्रदेशसभा सदस्य र मन्त्रीले तीन दलको सहकार्य गरेर कर्णालीको विकास र परिवर्तनमा जुट्नुपर्ने बताइरहेका छन् । यो कुरामा एमाले लचक देखिए पनि काँग्रेसले भने मानिरहेको छैन । एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले अझै पनि मुख्यमन्त्री शर्मासँग सौहार्दपूर्ण वातावरण रहेको र शर्माले तीनवटै दल मिलेर अघि बढ्नुपर्ने आश्वासन दिइरहेको बताएका छन् ।

एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले एमाले-माओवादीबीच अहिलेसम्म सरकार छाड्ने विषयमा कुनै कुरा नभएको बताए । बरु तीन वटै दल एक ठाउँमा उभिएर प्रदेशको परिवर्तनका पक्षमा उभिनुपर्ने कुरा मुख्यमन्त्रीले भनेको उनको भनाइ छ । मुख्यमन्त्री शर्माले शुक्रबारको बैठकमा समेत यही कुरा बताएका थिए ।

उता काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सत्तामा जाने-नजाने कुरा माओवादीमा नै निर्भर रहने बताउँछन् । माओवादीले भनेजस्तो तीन दलीय सहकार्यमा सत्ता सञ्चालन गर्न नसकिने शाहीले प्रष्ट पारे । उनले आफू सरकारको नेतृत्व दाबी गरिरहेको र त्यो अडानबाट पछि नहटेको बताए । कांग्रेस र एमाले मिल्ने डरले माओवादीलाई अर्को तनाव दिएको छ । किनकी यि दल मिलेर पनि सरकार बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्