काठमाडौं । राष्ट्रियसभा सांसद सुरेशकुमार आले मगरले भारतमा बग्ने नदीको नाममा प्रदेश एकको नामकरण गरिएकाले ‘कोशी प्रदेश’ तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।
आज (बुधबार) बसेको राष्ट्रियसभा बैठकमा सम्बधोन गर्दै नेपालमा कोशी नदी नभएको र भारतमा बग्ने नदीको नामबाट प्रदेश–१ को नामकरण गरिएको उनले बताए । त्यसैले कोशी प्रदेश तत्काल खारेज गर्नुपर्ने उनको माग थियो ।

प्रदेश एकको जनताले मागेको पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने उनको माग थियो । उनले भने, ‘कोशी नदी नेपालका कतै छैन । जहाँ छ/सात वटा नदीहरू मिल्दछन् । त्योभन्दा माथि अरुण, तमोर, लिखु आदी छन् । जहाँ ती नदीहरू मिलेर बग्छन्, त्यो सप्तकोसी हो, कोशी होइन । कोशी त भारतमा छ ।’
भारतको बग्ने नदीको नामबाट प्रदेशको नामकरण गरिएकाले प्रदेश–१ मा समस्या सिर्जना भएको उनले बताए । ‘त्यो भारतमा बग्ने नदीको नाममा प्रदेशको नामकरण गरियो । जसले गर्दा समस्याको सिर्जना गर्यो । त्यसकारण यो प्रदेशको नाम तत्काल खारेज गर्नुपर्छ । र, जनताले मागेको पहिचानको आधारमा नामाकरण गरिनुपर्दछ,’ उनले भने ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका सांसद आले मगरले निरंकुश, तानाशाही व्यवस्थाको कोशी अञ्चलको भूतलाई निम्त्याएर ‘कोशी प्रदेश’ नामाकरण गरिएको टिप्पणी गरे । परिवर्नत र पहिचान नदी, हिमाल, पहाड र डाँडाकाँडाले नभइ जनताले खोजेको सांसद आले मगरले बताए ।
‘निरंकुश, तानाशाही व्यवस्थाको कोशी प्रदेश कोशी अञ्चलको भूतलाई निम्त्याएर कोशी प्रदेशको नामकरण गरियो । एउटा नदीको नाममा एउटा प्रदेशको नामाकरण गरियो,’ उनले भने, ‘परिवर्तन र पहिचान जनताको खोजेका थिए । उत्पीडित, अन्याय, विभेद र बहिष्कारमा परेका जनताले खोजको थिए । खोलानाला, डाँडाकाँडा र हिमालले खोजेको थिएन ।’
पञ्चयात व्यवस्थाका भूतलाई ताउँदै बागमती अञ्चललाई बागमती प्रदेश, गण्डकी अञ्चललाई गण्डकी प्रदेश, लुम्बिनी अञ्चललाई लुम्बिनी प्रदेश बनाएको उनले बताए । त्यसैले प्रदेश- १ का जनताले आन्दोलन गरिरहेको र प्रदेश- १ को आन्दोलनमा आफ्नो ऐक्यबद्धता भएको उनले बताए ।
देशमा ठूलाठूला परिवर्तन भएपनि चिन्तन अझैँ पनि प्रतिगामी र पश्चगामी भएकाले देशमा प्रगति हुन नसकेको उनले बताए । उनले भने, ‘देशमा ठूलाठूला परिवर्तन भए तर चिन्तन अझैँ पनि प्रतिगामी छ । पश्चगामी छ । संघीय गणतन्त्र आइसक्यो तर हाम्रो मानसिकता तर कहिले पनि बदलिएन । यसैकारणले नेपालको प्रगति भएन ।’
भिडियो











