काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन् ।
बुधबार नेकपा एसको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।

उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए ।
‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयू छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन्। त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर, तपाईंहरू ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ’, उनले भने, ‘त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेका छौं ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए ।











