Logo
Logo

सर्वसम्मत नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष ढकालले थाले छलफल


630
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामि चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा तीन जना आकांक्षिहरु रहेका छन् । ढकाल आगामि साधारणसभाबाट स्वतः अध्यक्ष हुँदै छन् ।

बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षिहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् ।

छलफलका क्रममा वरिष्ठ उपाध्यक्ष ढकालले भने– ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने गरेको छु । यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ । यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो ।’

अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने ढकालको भनाइ रहेको छ ।

‘हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन’ ढकालले भने ।

निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा विभाजित हुनु नहुने भन्दै वरिष्ठ उपाध्यक्ष ढकालले एकता र सहकार्यबाट समाधान खोज्नु पर्नेमा जोड दिए ।

ढकालले भने– ‘मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीहरुलाई मिलाउन सकिन्छ भनिरहेको छु । यसमा तपाईहरुको साथ र सहयोग अपेक्षा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्