Logo
Logo

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीद्वारा प्रचण्डसँग छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल थालेका छन् । दशैं अगाडिदेखि नै दुई नेताबीच यसबारे छलफल थालेको स्रोत बताउँछ ।
शुक्रबार पनि ओली र प्रचण्डबीच यसारे छलफल भएको थियो । सबै मन्त्री हेरफेर गर्ने कि कार्यसम्पादनमा कमजोर देखिएकाहरू मात्र फेर्ने विषयमा छलफल केन्द्रित थियो । आधा दर्जनजति मन्त्री हेरफेर गर्न दुवै लभगभ सहमत भएका छन् । अब उपचुनाव सकिएलगत्तै मन्त्रिमण्डलसमेत पुनर्गठन गर्ने तयारी भइरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि ओलीले यसारे छलफलको तयारी गरिरहेका छन् ।


सुरेन्द्र पाण्डे, महेश बस्नेत लगायत नेता मन्त्रिमण्डलमा पर्ने प्रबल सम्भावना छ ।
सचिवालयका १३ जनाको राजिनामा तयारी
सचिवालय चुस्त हुन नसक्दा सोचेअनुसार काम गर्न नसकेको निष्कर्षपछि प्रधानमन्त्री ओलीले सचिवालय हेरफेर गर्न लागेका छन् । सचिवालयका सबैलाई राजिनामा दिन उनले निर्देशन दिइसेका छन् ।
प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहार अच्युत मैनाली, आईटी विज्ञ अलि असगरलाई राजिनामा दिन भनेका हुन् । त्यस्तै डा. घनश्याम भट्टराई–विकास मामिलाविज्ञ, इन्द्र भण्डारी– प्रमुख स्वकीयसचिव, राजेश बज्राचार्य–स्वकीयसचिव, चेतन अधिकारी– प्रेस संयोजक, रामशरण बजगाईं–सूचना सम्प्रेषक र स्वकीय सचिवालय समूहका दीपेन्द्र दाहाल, कृष्ण पौडेल र होम थापालाई पनि राजिनामाको निर्देशन दिइएको छ ।
गलत रिपोर्टिङ गरेको आरोप उनीहरुमाथि छ । ‘प्रधानमन्त्रीज्यूले मास्क लगाएर हिँड्नुपर्ने दिन अब गयो भनेर गरेको सम्बोधनको जनस्तरमा व्यापक आलोचना भएको थियो, तर त्यस्ता कुरा पनि उहाँलाई जानकारी गराएन, धेरै फिल्डको सूचनाबाट उहाँ वञ्चित हुनुभयो, एकप्रकारले खोपीकै देवताजस्तो पनि बनाइएको थियो, शुभचिन्तकहरूलाई सल्लाहकारहरूले पूरै आउट गरेर घेराबन्दी गरेर राखिएको थियो,’ असन्तुष्टमध्येकै एक नेताले भने, ‘हामीले एक वर्षदेखि नै सल्लाहकार समूहको कार्यशैली ठीक नभएको बारेमा प्रधानमन्त्रीज्यूलाई अवगत गराउँदै आएका थियौँ, जे कदम उहाँले चाल्न खोज्दै हुनुहुन्छ, त्यो ढिलै भए पनि राम्रो देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्