
विराटनगर । विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरले तयारी गरेको हो ।
महानगर प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि महानगरले तयारी तीव्र बनाएको जानकारी दिए । प्रमुख कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तथ्य र तयारीका आधारमा अनुगमन गरेर आउने प्रतिवेदनअनुसार पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुपर्नेमा जोड दिए ।
उनले प्रशासनका तर्फबाट महानगरलाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सबै खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको धारणा राखे ।
पूर्ण खोपका लागि पूर्वतयारी अन्तिम चरणमा पु¥याएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । महानगरका १९ वटै वडाका पाँच वर्षमुनिका करिब ११ हजार बालबालिकाको जाँच गर्दा ७५ जना बालबालिकामात्रै खोपबाट वञ्चित भएको पाइएको थियो ।
छलफलमा महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, समितिका सदस्य सरिता घिमिरे नेपाल, मोरङ प्रहरीका प्रहरी उपरीक्षक दीपक पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहता, महानगरका सामाजिक महाशाखा प्रमुख अर्जुन थपलियालगायतको सहभागिता रहेको थियो ।











