Logo
Logo

नेपाल र चीनबीच परराष्ट्रसचिवस्तरीय वार्ता भाेली


504
Shares

काठमाडौं । नेपाल र चीनका परराष्ट्रसचिवहरूबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक शुक्रबार बेइजिङमा बस्ने भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रसचिव भरतराज पौड्याल चीन पुगेका छन् ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा चीनका परराष्ट्र मन्त्रालयका उपमन्त्री (जो परराष्ट्रसचिवसरह मानिन्छन्) सुन वेइदोङसँग परराष्ट्रसचिव पौड्यालको वार्ता हुनेछ । वार्तामा उत्तरपूर्वी महाशाखा प्रमुख लोकबहादुर थापा, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायत नेपाली अधिकारी सहभागी हुनेछन् । गत वर्ष यो बैठक भिडियो माध्यमबाट भएको थियो ।

गत वर्ष परराष्ट्रसचिव पौड्याल र चीनबाट तत्कालीन सहायकमन्त्री वु जियाङघाओले बैठकको नेतृत्व गरेका थिए । नेपाल र चीनबीच सञ्चालनमा आएका नाकाहरूमा कार्गो र मानिसको दोहोरो आवतजावत खुला गर्ने निर्णय भएलगत्तै परराष्ट्रसचिवस्तरीय वार्ता हुन लागेको छ । चिनियाँ सहयोगका परियोजनाको समयबद्ध कार्यान्वयनमा पनि यो बैठकमा छलफल हुने कार्यसूची छ ।

बैठकमा दुई देशबीच राजनीतिक नेतृत्वले गरेका निर्णय कार्यान्वयनमा भएका प्रगतिको समीक्षा हुने कूटनीतिक अधिकारीहरू बताउँछन् । भोली बस्ने बैठकमा व्यापार, वाणिज्य, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको आदान–प्रदानका विषयमा छलफल हुनेछ ।

परराष्ट्रसचिव पौड्यालले नेपाल र चीनबीच हवाई सेवा निरन्तर हुनुपर्नेमा जोड दिनेछन् । गत साता ल्हासामा वाणिज्यसचिव मधुकुमार मरासिनीले चिनियाँ अधिकारीलाई काठमाडौं–ल्हासा हवाई सेवा सुरु गर्न आग्रह गरेका थिए । परराष्ट्रसचिव पौड्यालले पनि यो एजेन्डा उठाउने गरी तयारी भएको परराष्ट्र स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्