Logo
Logo
भगवानको नाममा भ्रष्टाचार

पशुपतिमा सदस्य सचिव थापाकै नेतृत्वमा भ्रष्टाचार


6.4k
Shares

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपति मन्दिर हेर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा भ्रष्ट कर्मचारी जोगाउन लागिपारेका छन् ।

सेटिङमा रहेका कर्मचारीलाई कारबाही हुँदा आफूलाई पनि भ्रष्टाचार मुद्दामा कारबाही हुने डरले सदस्य सचिव थापा भ्रष्ट कर्मचारीलाई जोगाउन लागिपरेका हुन् ।

गत माघ १४ गते पशुपति मन्दिरबाट दान पेटिका तीन घण्टा हराएको थियो । उक्त घटनामा संलग्न रहेका दुई कर्मचारीलाई जोगाउन थापा अनेक उपाय खोजिरहेका छन् ।

दान पेटिका हराएको घटना छानबिन गर्न पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन नगरेर सदस्य सचिव थापाले भ्रष्ट कर्मचारी जोगाउन खोजेका हुन् ।

छानबिन समितिले संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरी शंकर पराजुली र मानव संसाधन र सार्वजनिक खरिद महाशाखाका निमित्त प्रमुख रेवती रमण अधिकारीलाई दोषी ठहर गरेको छ । छानबिन समितिको प्रतिवेदन कार्यान्वयन भए पराजुली र अधिकारीलाई भ्रष्टाचार मुद्दामा कारबाही हुने छ ।

छानबिन समितिले प्रतिवेदन बुझाएको महिना दिन बितिसकेको छ । तर, सदस्य सचिव थापा भने कार्यान्वयन गर्ने पक्षमा छैनन् । बरु, छानबिन समितिको प्रतिवेदनमै प्रश्न उठाउन थालेका छन् ।

दृष्टिन्यूजसँग कुरा गर्दै सदस्य सचिव थापाले भने– ‘छानबिन समितिको प्रतिवेदन नै ठीक छैन । यस्तो प्रतिवेदन कार्यान्वयन त के सार्वजनिक गर्नै उपयुक्त छैन । यसबारे थप निर्णय भएपछि मात्र बाँकी काम हुन्छ ।’

स्रोतका अनुसार पराजुली र अधिकारीले सदस्य सचिव थापाकै सेटिङमा काम गरिरहेका छन् । दान पेटिका पनि सेटिङकै आधारमा लुटिएको स्रोतले बतायो । लामो समयदेखि दान पेटिका लुट्ने काम हुँदै आएको भए पनि यस पटक भने सेटिङ नमिल्दा यो घटना सार्वजनिक भएको स्रोतले बतायो ।

सदस्य सचिव थापाले छानविन समितिको प्रतिवेदनमा प्रश्न उठाउनुको मुख्य कारण आफ्नो सेटिङमा रहेका पराजुली र अधिकारीलाई कारबाही हुने डर रहेको छ । त्यति मात्र नभएर आफ्नै सेटिङमा काम गरिरहेकाहरूलाई कारबाही हुँदा आफूलाई पनि कारबाही हुने उनले बुझेका छन् ।

सेटिङका कर्मचारीलाई दोहोरो जिम्मेवारी
सेटिङमा काम गर्दै आएका रेवती रमण अधिकारीलाई सदस्य सचिव थापाले दोहोरो जिम्मेवारी दिएका छन् ।

कोषमा धेरै कर्मचारी जिम्मेवारी विहीन रहेता पनि सदस्य सचिवसँगको सेटिङमा रहेका कारण अधिकारीले मानव संसाधन महाशाखा र सार्वजनिक खरिद महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् ।

मानव संसाधन महाशाखाका प्रमुख सेटिङकै भएपछि भ्रष्टाचार गर्न सकिने क्षेत्रमा सेटिङकै कर्मचारी खटाउन सहज हुने भएकाले सदस्य सचिव थापाले अधिकारीलाई नै उक्त महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा राखेको आरोप लाग्ने गरेको छ ।

त्यसै गरी, सार्वजनिक खरिदका क्रममा भ्रष्टाचार गर्न सहज हुने गरी सदस्य सचिव थापाले अधिकारीलाई नै उक्त महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिएको बुझिन्छ ।

कोषका एक सदस्यका अनुसार सेटिङमा रहेका महाशाखा वा शाखाबाट माग भए मात्र आवश्यक सामान खरिदका लागि अधिकारीले अनुमति दिने गरेका छन् ।

‘सदस्य सचिव नै घुस डिल गर्छन्’
स्रोतका अनुसार अघिकांश केसमा सदस्य सचिव थापा आफैले घुस डिल गर्ने गरेका छन् । यो विषय पशुपति क्षेत्र विकास कोषको तालुक मन्त्रालयका मन्त्री सुदन किरातीले थाहा पाइसकेका छन् ।

मन्त्री भएपछि ब्रिफिङ लिन कोष पशुपति पुगेका मन्त्री किरातीले ‘पशुपतिनाथको नाममा करोडौँको घुस डिल हुन्छ भन्ने सुनेको छु’ भनेका थिए । स्रोतले भने अनुसार मन्त्री किरातीको उक्त भनाइ सदस्य सचिव थापाप्रति लक्षित थियो ।

सदस्य सचिव थापाले पशुपति क्षेत्रमा बोलपत्र मार्फत काम गर्न आएका र आउने निजी क्षेत्रका व्यवसायीहरूसँग काम सहज बनाइदिने भन्दै घुस डिल गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्