Logo
Logo

रविले उपनिर्वाचनमा सुशासनको घण्टी बजाउनु वाहियात : शंकर पोखरेल


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादानको याचना गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सामाजिक संञ्जालमा स्टाटस पोष्ट गर्दै सभापति लामिछानेले देउवा-प्रचण्डको गठबन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचना सहित समर्थन गरेको बताएका हुन् ।

महासचिव पोखरेलले देशको अर्थतन्त्र कमजोर बनाएर कमिसनका लागि कालोबजारी, तस्करी, घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई यो गठबन्धनले प्रवद्धन गरेको आरोप लगाएका हुन् । उनले प्रचण्ड देउवा नेतृत्वको गठबन्धनलाई भ्रष्ट गठबन्धनको संज्ञा दिएका छन्।

यस्तै उनले रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादान पाएको भन्दै सुशासनको घण्टी बजाउनुको केही अर्थ नभएको उल्लेख गरेका छन्। नागरिकता मुद्दामा मन्त्री र सांसद पद गुमाएका रविलाई राहदानी दुरुपयोग प्रकरणमा भने उनलाई केही राहत मिलेको छ ।

लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिने दिन चैत ६ गते नै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लामिछानेविरुद्धको मुद्दा रोक्नुपर्ने सर्त राखेको थियो । विश्वासको मत दिनुअघि स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डीपी अर्याल महान्यायधिवक्ता कार्यालयमै पुगेका थिए ।

आफूविरुद्ध मुद्दा नचलाउने निर्णय गराएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि लामिछाने फेरि चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा उठेका छन् । सर्वोच्चले महान्याधिवक्ताको निर्णयमा कारण देखाउ आदेश जारी गरेपछि उनलाई राहत मिलेको छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मुलुकको अर्थतन्त्रलाई कमजोर बनाएर कमिसनका लागि लोबजारी, तस्करी, घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई प्रवर्द्धन गर्ने देउवा-प्रचण्डको नेतृत्वको भ्रष्ट गठबन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचनासहित समर्थन गर्नेहरूले सुशासनको घण्टी बजाउनुको कुनै अर्थ र महत्व बाँकी रहेन।’

प्रतिक्रिया दिनुहोस्