काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वर्तमान सरकारको एक सयदिन दिशाहीन भएको बताएको छ । बिहीबार प्रतिनिधिसधा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले सरकारको १०० दिन दिशाहीन भएको बताएको आरोप लगाएका हुन् ।

उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’ उनले सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरेपनि त्यसमा उल्लेखनीय केही नभएको बताए ।
सांसद पन्तले भने, ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन् । न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ ।’
उनले १०० दिन हुँदासमेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै अहिलेसम्मको उपलब्धि सिद्धान्तहीन र नीतिहीन भएको बताए । सांसद पन्तले भने, ‘जनताले उपलब्धि पाउनुप¥यो, जनताले व्यवहारमा सरकार छ भन्ने देखिनुप¥यो । तर, यो सरकार मन्त्रिपरिषदसमेत बनाउन नसक्नेले कुनै निकास दिन सकेको छैन ।’











