काठमाडौं । उपनिर्वाचनका लागि आचारसंहिता लागू भएपनि सरकार निर्माण र विस्तारमा प्रभावित नहुने भएको छ । निर्वाचन आयोगले यही आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

तर, उपनिर्वाचनका लागि जारी भएको आचारसंहिताले मन्त्रिपरिषद् विस्तार, प्रदेश सरकारहरू निर्माण र विस्तार जस्ता गतिविधि प्रभावित नहुने आयोगले जनाएको छ । आयोगले निर्वाचन हुने तीन जिल्लामा मात्रै लागू हुनेगरी आचारसंहिता जारी गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन हुने तीन जिल्लाभर मात्रै आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने जनाएका छन् । ‘आचारसंहिता देशभरि होइन, निर्वाचन हुने बारा, चितवन र तनहुँमा मात्रै लागू हुन्छ’ उनले भने । बैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।











