काठमाडौँ । मिटरब्याजी पीडितको आन्दोनमा प्रहरीले हस्तक्षेप गरेको छ । शुक्रबार मिटरब्याजी पीडितले सिंहदरबार गेटमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेत गरी पीडितहरुलाई नियन्त्रणमा लिएको छ ।

मिटरब्याजी पीडितहरुले प्रदर्शनसहित माइतिघरबाट सिंहदरबारको पूर्वी गेटतर्फ लम्किएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले झण्डै एक दर्जन पीडितलाई नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले मिटर व्याजलाई अपराध ठहर गर्दै मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाउने भन्दै त्यसको छानबिन गर्न गर्न आयोग गठन गरिसकेको छ । सरकारले आयोग गठन गरेपछि पीडितले आन्दोलन फिर्ता लिएका थिए । तर, आन्दोलन फिर्ता लिएको घोषणा गरेको भोलिपल्ट नै पुन: उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले आफ्नो माग पूरा नभएसम्म घर नजाने अडानमा छन् । केही दिनअघि मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै उनीहरु बारालगायत मधेशका विभिन्न क्षेत्रबाट पैदल हिँडेर काठमाडौं आएका थिए ।











