Logo
Logo

प्रधानमन्त्रीको फुर्सद देखेर गगन थापा छक्क


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले बिहीबार ल्याएको न्यूनतम साझा कार्यक्रम निबन्धजस्तो भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम केही समय अघि आएको र अहिले पनि आएकोले यसमा निष्पक्ष भएर टिप्पणी गर्नुपर्ने भन्दै यसलाई संसद्‌मै प्रस्तुत गर्नुपर्नेमा नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले टिम बनाउने र त्यो नै महत्त्वपूर्ण हुने भन्दै नेपालमा त्यो नहुने दाबी गरे । उनले अहिले प्रधानमन्त्री कार्यालयमा रहने टिम सजाय पाएका व्यक्तिहरु मात्र हुने भएकाले रिजल्ट आउने देखिएको बताए ।

उनले भारत, अमेरिका र बेलायतजस्ता देशहरुमा प्रधानमन्त्रीले टिम बनाएर काम गर्ने तर, नेपालमा त्यो हुन नसकेको बताए । उनले नयाँ सरकारले उत्साह दिनुपर्नेमा निरासा दिएको बताए ।

उनले सिङ्गो संसद्ले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्दै कर्मचारी संयन्त्र सुधार गर्ने, मिटरब्याज र मानव तस्करी जस्ता दण्डहिनता अन्त्य गर्ने कार्यमा निडर रुपमा काम गर्न आग्रह गरे।

सांसद थापाले ‘एक दिन, एक परिणाम’ ल्याउने गरि सरकारले काम गर्नुपर्ने भन्दै सबै क्षेत्र धरासायी भएकाले धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने भनेको सरकारले हो । सरकार भनेको प्रधानमन्त्री हो । तर प्रधानमन्त्रीमा आत्माविश्वास नभएको, कता कता अल्मलिएको पाएको छु,’ उनले भने, ‘केही कार्यक्रममा मलाई अथितिका रुपमा बोलाउनु भयो । मैले भने भ्याउँदिनँ । आयोजकले भन्नुभयो । प्रधानमन्त्री आउँदै हुनुहुन्छ, प्रधानमन्त्रीलाई फुर्सद हुन्छ । तिमिलाई फुर्सद नहुने ? अप्ठ्यारो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर म छक्क पर्छ ।’

प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनमा जान भ्यानभ्या भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्