काठमाडौं । काठमाडौंको गैरीगाउँमा बस्दै आएका सुकुम्बासीलाई हटाउन खोज्दा झडप भएको छ । डोजर लिएर सुकुम्बासी वस्ती हटाउन पुगेको महानगरको टोलीलाई सुकुम्बासीहरूले प्रतिकार गरेका हुन् ।

अहिले अवस्था तनावग्रस्त बनेको छ । महानगरको डोजर वस्ती छिर्न सकेको छैन । सुकुम्बासीहरूले टायर बालेर विरोध गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

महानगर प्रहरीले नदि किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकामा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।











