काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको दावी गरेका छन् । एमालेभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता र क्षमताअनुसार नेता कार्यकर्ताले जिम्मेवारी पाइरहेको उनको भनाइ छ ।
शनिबार एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनलाई समबोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई स्वार्थका लागि विवाद नगर्न समेत आग्रह गरे ।

उनले भने, ‘आजको एमालेभित्र कुनै किसिमको गुटबन्दी छैन । यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं ।’ उनले एमाले मुलुकमा अरु पार्टीभन्दा बढी बलियो र व्यापक रहेको समेत बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँ भन्ने गरेको छु, आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमालेविरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरू ढाल बनेर महिलाहरूले छेकेका छन् । अनमेसंघ र अरु संगठनहरू सक्रिय छन् । त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदीबहिनीहरूको योगदान यथार्थमा भन्ने हो भने आजको अवस्थामा पार्टी यसरी सुरक्षित भएर, जोगिएर, एउटा देशका प्रमुख पार्टीको हैसियतमा तुरुन्त जस्ताको तस्तै उभिन, शरिरभरी घाउ, निलडाम होलान् तर एमाले फेरि पनि जुरुक्क उठेको छ ।’
अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम भएको बताएका थिए ।











