Logo
Logo

टिआरसी लगायतका विधेयक फास्ट ट्रयाक लैजाने प्रस्ताव एमालेद्वारा अस्वीकार


1.1k
Shares

काठमाडौं । संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न सत्तापक्षले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । शनिबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको शीर्ष तीन दलका नेताहरूको छलफलमा सत्तापक्षले प्रतिपक्षलाई सो प्रस्ताव रोखको हो ।

छलफलमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले संक्रमणकालील न्याय सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न प्रस्ताव राखेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रधानमन्त्री प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गरे ।

सभामुखसहित तीन शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते बिहान ९ बजे पुनः बैठक बसेर टुंग्याउने सहमति भएको बताए ।

प्रधानमन्त्रीले पत्रकारहरुसँग भने, ‘सभामुखजीले दुईजना साथीहरुलाई बोलाउनुभयो । खासगरी टिआरसी, संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भनेर छलफल भयो । सहमति जुटाउन सैद्धान्तिक रुपमा हामी सहमत छौं । तर, टेक्निकल पाटो छ । नियमावली पास भएको छ । यो सबैबारे यो क्षेत्रमा काम गरेका साथीहरुसमेत बसेर २८ गते बिहान बसेर टुंग्याउने भन्ने भएको छ ।’ उनले आफूहरुले फास्ट ट्र्याकबाटै टुंग्याउन ओलीलाई आग्रह गरेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो कुरा फुल हाउसबाटै, फास्ट ट्याकबाटै गरौं भन्ने छ । तर, प्रतिपक्षीले संसदीय समितिमा लैजाऔं भन्नुभएको छ । यसमा बीचको बाटो खोज्ने कि भन्ने भएको छ ।’

यस्तै, एमाले अध्यक्ष ओलीले पनि संक्रमणकालीन न्याय निरूपण सम्बन्धी विधेयकलाई संसदीय समितिमा लैजान कुरा राखेको बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘मैले टिआरसी समितिमा लगेर छलफल गरिनुपर्छ भनेको छु ।’ उनले प्रधानमन्त्रीले फास्ट ट्र्याकबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताए ।

प्रतिक्रिया दिनुहोस्