
बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन् । नेपाली लेखक सङ्घ झापाले आज अर्जुनधारामा आयोजना गरेको ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले त्यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताए । ‘सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नुपर्छ’, उनले भने, ‘राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।’
कार्यक्रममा झापा क्षेत्र नं १ का सांसदसमेत रहेका शर्माले ‘बैशाखी’ शीर्षकको कवितासमेत वाचन गरेका थिए । पार्टीले लेखक सङ्घ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार्दै उनले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।
‘लेखक सङ्घलाई प्रभावकारी बनाउन मैले पहिला पनि काम गरेको थिएँ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनेछ’, उनले भने, ‘लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्वाहक हुन् ।’ कार्यक्रममा लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठ, महासचिव सोझो गाउँलेले सङ्घका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
ज्ञानमणि नेपालले राष्ट्रिय लेखक दिवस, सन्दर्भ र औचित्य, कृष्ण बरालले लीला लेखन, विचार र बहस विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्र माथि शैलेन्द्रप्रसाद नेपाल, अनुपमा रेग्मी, प्राज्ञ मुनाराज शेर्मा, विष्णुकुमार भट्टराईलगायतले टिप्पणी गरेका थिए ।











