
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।
यसअघि दुईपटक समयअभावका कारण लगातार स्थगित भएको सुनुवाई आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश बरालको इजलाशमा हुने लगभग निश्चित छ । जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ । आजै फैसला भने नआउन सक्छ ।
परिवर्तित नाम गौशाला–२६ ले बलात्कारको उजुरी दिएपछि गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ ।











