काठमाडौं । चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । गत वर्षदेखि नेपालीहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको र आयात निरन्तर घट्दै गएपछि देशको अर्थतन्त्रमा केही सुधार आएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । चालु आर्थिक वर्षको औसत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ ।

यता सरकारको चालु खाता घाटामा पनि सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो ।
त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ । गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकामा अहिले १४ सय एक अर्ब सञ्चिति छ । फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ ।
माघ मसान्तसम्म एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो । गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो ।
असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति बचतमा गएको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । माघमा पाँच खर्ब ८५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको छ । गत वर्षको तुलनामा महँगी भने बढेको छ ।
त्यस्तै बैंकहरुको अवस्था पनि सुरक्षित र स्वस्थ रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बताउँछन् । तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने अधिकारीको भनाइ छ । उनले सबैखालले वित्तीय संस्थाहरुको तथ्यांकहरू बलियो रहेको जनाएका छन् ।
उनले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावका कारणले समस्या आउने अवस्था नभएको दाबी गरे । पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै आएको जनाउँदै उनले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको जनाए ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा उनले भने- बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभावको कारणले बच्नका लागि सहयोग पुगेको अवस्था छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगको बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी बढेको अवस्था छ, यसरी समग्रमा बैंक तथा वित्तीय संस्थाको सुरक्षाका सन्दर्भमा नेपालका वित्तीय संस्थाहरु र वित्तीय क्षेत्र सुरक्षित छ । सानोतिनो धक्काले कतै अफ्ठ्यारो पर्ने अवस्था देख्दैनौं ।’
उनले बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गरे । उनले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने जनाए । उनले बैंकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।
गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको पनि बताए । उनले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको जानकारी दिए ।











