
काठमाडौं । नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले तनहुँ–१ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा स्वतन्त्र भएर मतदान गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ ।
तनहुँमा निर्णयक मानिएको जोशी समूहको तर्फबाट गोविन्दराज जोशीले विज्ञप्ति जारी गर्दै कांग्रेसले आफूहरुलाई झुक्याइरहेको भन्दै उपनिर्वाचनमा आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको हो ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसका प्रतिनिधिहरुसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ ।’
उनले जारी गरेको विज्ञप्तिमा यसअघि कांग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरुलाई अपमान गर्ने खालको दस्तावेज रहेको ठहर गरेका छन् ।














