
काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६ वटा संस्थालाई आगामी बैशाख १० गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिएको छ ।
चैत २८ गते बसेको आयोगको बैठकले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिएको हो ।
निवेदन आएका ७ मध्ये ‘निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९’ को दफा ८ उपदफा (२) बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले ती संस्थाहरुलाई पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने पौडेलले जानकारी दिए । आगामी वैशाख १० गते आइतबार बारा २, तनहुँ १ र चितवन २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।











