काठमाडौं । बेलायतको इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको पुनरागमन भएको छ । पाँचतारे होटल सोल्टीको व्यवस्थापनबाट बाहिरिएको यो अन्तर्राष्ट्रिय चेनले सांग्रिला होटल एण्ड रिसोर्ट ग्रुपअन्तर्गत अब नेपालमा चारवटा होटलको व्यवस्थापन गर्ने भएको छ ।

यसका लागि दुवै कम्पनीबीच काठमाडौंको इन्टरकन्टिनेन्टल काठमाडौं, पोखराको होटल इण्डिगो, बेगनास ताल छेउको इन्टरकन्टिनेन्टल रिसोर्ट र मेघौलीको इन्टरकन्टिनेन्टल रिसोर्ट व्यवस्थापनबीच मंगलबार सम्झौता भएको छ ।
आइएचजीले इन्टरकन्टिनेन्टल र इण्डिगो गरी दुईवटा ब्राण्डमार्फत ५ सय कोठा क्षमताको पोर्टफोलियो कायम गर्नेछ । साङ्ग्रिला समूहले निर्माण सुरु गरेको ती होटल चार वर्षभित्रै संचालनमा आउने बताइएको छ ।
आइएचजी समुहअन्तर्गत दक्षिण एसियाका प्रवन्ध निर्देशक सुदीप जैनका अनुसार आफ्नो दुईवटा लिडिङ ब्राण्ड नेपालमा ल्याउन लागिएको हो । तीन ब्राण्ड लक्जरी र लाइफस्टाइल पोर्टफोलियो अन्तर्गत रहेका छन् ।
साङ्ग्रिला होटल एण्ड रिसोर्ट ग्रुपसँगको सहकार्यमा आफ्नो फुट प्रिन्ट विस्तार हुन लागेको जैनले बताएका छन् । उनले भने, ‘अहिलेको पर्यटकीय गन्तव्य हाम्रो लागि नयाँ रहेको छ । अन्तर्राष्ट्रियस्तरको सेवा प्रवाहका लागि नेपालको तर्फबाट यो हाम्रो लागि ठूलो अवसर बनेको छ ।’
युरोप, मध्यपूर्व, पूर्वी अफ्रिका र एसियालगायत चार क्षेत्रमा आफ्नो दबदबा कायम गर्दै आएको यो व्यवस्थापन कम्पनीले लक्जरी र लाइफस्टाइल क्याटगोरीमा अन्तर्राष्ट्रिय सेवा प्रवाह गर्दै आएको उनले जानकारी दिएका छन् ।
आन्तरिक र वाह्य पर्यटकलाई विश्वस्तरीय सेवा दिने उद्धेश्यले आइएचजीअन्तर्गत दुईवटा ब्राण्ड ल्याइएको साङ्ग्रिला समूहका अध्यक्ष प्रसिद्ध पाण्डेले बताएका छन् । उनले संचालनमा आउन लागेका सबै होटल र रिसोर्ट मुलुकको प्रमुख गन्तव्यमा अवस्थित हुने बताएका छन् ।
तीन वर्षदेखि बन्द रहेको लाजिम्पाटस्थित होटल सांग्रिला काठमाडौंलाई नै इन्टरकन्टिनेन्टल काठमाडौंको रुपमा पुर्नस्सपना गर्न लागेको जनाइएको छ । कुल २२४ कोठा क्षमताहो होटलमा अलडे डाइनिङ, स्वीमिङ पुल, विजनेश सेन्टर, इन्डोर रआउटडोर सुविधा रहेको छ ।
यस्तै, एक सय कोठा क्षमता होटल इण्डिगो पोखरा मिटिङ, कन्फ्रेन्स, माइस टुरिज्म लक्षित रहेको कम्पनीले जनाएको छ । होटलमा रिटेल स्टोर, हेल्थ क्लब, स्पा, लाउन्ज, विजनेश सेन्टर, दुईवटा बलरुम, मिटिङ रुम, लाउन्ज, बार लगायत सुविधा समावेश गरिएको छ ।
उक्त कम्पनीअन्तर्गत बेगनास तालनजिकै संचालनमा आउन लागेको इन्टरकन्टिनेन्टल पोखरा बेगनासमा ८० कोठा क्षमताको रहने बताइएको छ । यस्तै, मेघौलीमा संचाचलनमा ल्याउन लागिएको इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन ८० कोठा क्षमताको रहेको छ । जसमा अल डे डाइनिङ, लबी लाउन्ज बार, हेल्थ क्लब, स्पा, स्वीमिङ पुललगायत सुविधा हुने बताइएको छ ।











