
काठमाडौं । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानसभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका हुन् ।
प्रधानमन्त्रीले वर्तमान समयमा आफ्नो पार्टी माओवादी केन्द्र सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागेपनि स्थिति सहज नरहेको बताए । जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने उनले चेतावनी दिए ।
सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती रहेकाले योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्ने बताए । प्रधानमन्त्री दाहालले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए ।











