Logo
Logo

सरकारी खर्चमा मन्त्रीका छोरा र सल्लाहकारको विदेशमा मस्ती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । केपी ओली नेतृत्वको सरकार गठन भएपछि सरकारले अनावश्यक विदेश भ्रमण नगर्ने नीति अबलम्बन गरेको छ । तर सचिव र योजना महाशाखाका प्रमुखमात्र गए हुने कार्यक्रममा मन्त्रीका छोरा, सल्लाहकारहरु समेत विदेश भ्रमण गएर सरकारको मितब्ययिताको नीति नै एकपछि अर्को उल्लंघन गर्दैआएका छन् ।

नैरोबीमा घुमफिर गर्दै सेल्फी खिच्दै केके राई सहितको टोली

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट दुरुपयोग गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीका छोरा दिपेश यादव, सल्लाहकार केके राई र उपसचिव भवनाथ खतिवडा केन्याको नैरोबी घुम्न ब्यस्त छन् । लंैगीक समानता तथा महिला सशक्तीकरण सम्बन्धी केन्याको नैरोबीमा नोभेम्बर १२ देखि १४ तारिखसम्म हुने इन्टरनेशनल कन्फ्रेन्स अन पपुलेसन एण्ड डेभलपेमन्ट(आईसीपीडी–२५) मा भाग लिनका लागि स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराल र सहसचिव डा. विकास देवकोटालाई मात्र निम्ता गरिएको थियो । सचिव बराल र नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख देवकोटा जानुपर्ने हो । तर जबर्जस्ती उक्त कार्यक्रममा निम्तै नभएका मन्त्री यादवको सचिवालयमा राखिएका उनका छोरा यादव र सल्लाकार राई पनि गएका छन् । उनीहरु विनाऔचित्य जबर्जस्ती मन्त्रालयको बजेटबाट केन्या घुमिरहेका छन् ।

मन्त्रीका सल्लाहकार र छोराको उक्त कार्यक्रममा कुनै कामै नभए पनि मन्त्रालयको लाखौं रुपैयाँ खर्च गरी घुम्नकै लागि गएका छन् । विनानिम्तो मन्त्रालयको खर्चमा विदेश जाने क्रम स्वास्थ्य मन्त्रीका सल्लाहकार राई र छोराले गर्दैआएका छन् । पछिल्लो पटकको नैरोबी भ्रमण त्यसको ज्वलन्त उदाहरण हो ।

स्वास्थ्य समन्वय महाशाखाका उपसचिव भवनाथ खतिवडा पनि कुनै काम नभए पनि मन्त्रालयको बजेटमा घुम्न गएको आरोप छ । यसरी जनताले तिरेको करको पैसा मन्त्रीका छोरा र सल्लाहकारले विदेश घुम्न दुरुपयोग गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जानुपर्ने स्वास्थ्य मन्त्रालयकै कर्मचारी बताउँछन् । उपसचिव खतिवडा दीपक बोहराका निजी सचिव थिए । उनीपछि आएको ओली सरकारका मन्त्री उपेन्द्र यादवका पनि उनै निजी सचिव भए । सरुवा र नियुक्तिमा मन्त्रीको बिचौलियाको काम गर्ने उपसचिव खतिवडाले मन्त्रालयमा आउने हरेक विदेश भ्रमणको कोटामा आफूलाई समावेश गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्