काठमाडौं । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको लागि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता कायम गरेका छन् ।

अहिले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जसपाका अध्यक्ष यादवले १७ हजार ६५३ मतका साथ अग्रता लिइरहेका छन् ।
दोस्रो स्थानमा रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले भने १२ हजार २३० मतले यादवलाई पछ्याईरहेका छन् । यादव पाँच हजार ४३० मतान्तरले अगाडि छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार कटाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले भने दुई हजार कटाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले एक हजार मत कटाएका छन् ।
यहाँ ३४ उमेदवार प्रतिस्पर्धामा छन् । गएको मंसिर ४ गते भएको निर्वाचनमा यहाँबाट जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानका लागि गएको आइतबार मतदान भएको थियो ।











