काठमाडौं, १८ मंसिर ।
एपेन्डिसाइटिसको अप्रेसनपछि ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको छ । शिक्षण अस्पताल अन्र्तगतको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको र उनको स्वास्थ्यमा धेरै सुधार आएकाले डिस्चार्ज गर्न लागिएको हो । अप्रेसनका क्रममा चिरिएको घाउ पनि निको भएपछि डिस्चार्ज गर्न लागिएको हो । बुधबार नै ओलीको डिस्चार्जको सम्भावना रहेको अस्पताल स्रोत बताउँछ ।

डिस्चार्जपछि पनि प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् । अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई चिकित्सकको निगरानीमा बालुवाटारमै राख्न लागिएको छ ।
प्रधानमन्त्री ओलीलाई ९ दिनअघि मंसिर ९ गते एपेन्डिसाइटिस भएको थियो । एपेन्डिसाइटिसलगत्तै शल्यक्रिया गरिएका प्रधानमन्त्री ओली अहिले चिकित्सकको निगरानीमा अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् ।
बुधबार अस्पतालले बिज्ञप्ती निकाली प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार भएको र चिकित्सकिय निगरानीमा राखिएको जनाएको छ । सोमबार प्रधानमन्त्री ओलीले भिडियो सन्देष जारी गरी स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए ।












