काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरु पक्षको बहस भइरहेको छ । तर, एक साता वित्दासमेत बहस सकिएको छैन । गत बुधबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा अभियुक्तहरुका पक्षमा वकिलहरुले बहस भइरहेको हो ।
तर, बिहीबार अभियुक्तहरुको पक्षमा बहस सकिएर सरकारी वकिलको जवाफी बहस भएमा शुक्रबारसम्ममा थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ । बिहीबार सरकारी वकिलको जवाफी बहस सकिएमा न्यायाधीश न्यौपानेले शुक्रबारसम्म क–कसलाई थुनामा पठाउने, क–कसलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिन सक्नेछन् ।
तर, अभियुक्तको प्रतिरक्षा बहस सुस्त भइरहेको छ । अभियुक्तहरुको पक्षमा बहस गर्ने वकिलहरुलाई न्यायाधीश न्यौपानेले बुधबारभित्र बहस सकिसक्न भनेका थिए । बुधबारसम्म प्रतिरक्षा बहस सकाएर बिहीबार सरकारी वकिलहरुबाट जवाफी बहस गराउने न्यायाधीश न्यौपानेको तयारी थियो । तर, तीन जना अभियुक्तको बहस अझै बाँकी छ ।

बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण र हज कमिटीका अध्यक्ष शमशेर मियाँको पक्षमा वकिलहरुले बहस गरे । शरणार्थी प्रकरणमा मुछिएका भीआईपीमध्ये पूर्वगृहमन्त्री खाँणको पक्षमा मंगलबार र बुधबार बरिष्ठ वकिलहरुले बहस गरेका थिए ।
बुधबार पनि खाँणको पक्षमा बिहानदेखि वरिष्ठ अधिवक्ताहरु लललितकुमार बस्नेत, रमन श्रेष्ठ, गोपालाकृष्ण घिमिरे, खम्मबहादुर खाती र अधिवक्ता सुरेन्द्र महतोले खाँणको पक्षमा बहस गरेका छन् ।
बहसका क्रममा नेपाल बार एसोसियसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता घिमिरेलेले नक्कली शरणार्थी प्रकरणका बिचौलियाले खाँणलाई पैसा दिएको प्रमाण कहीँ नभएको जिकिर गरे ।
बिचौलियाले बालकृष्ण खाँणलाई पैसा दिएको प्रमाण कहीँ नभएको भन्दै घिमिरेले भने, ‘केशव दुलालको बयानमा मन्त्रालयमै लगेर १ करोड २४ दिएको भनिएको छ । पनि यदि त्यसो हो भने गृहमन्त्रालयमा सीसीटीभी छ । कुन मितिमा दिएको हो ? १ करोड २४ लाख पैसा बोक्न झोला चाहिन्छ । गृहमन्त्रालयको मूलगेटमा कसको गाडीमा छिरेको हो ? सीसीटीभी भए ठाउँमा प्रमाण होला त्यसको फुटेज चाहिन्छ । नत्र मान्छेलाई आरोप लगाउन पाइँदैन ।’
पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता खम्म खातीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता खाँण निर्दोष रहेको जिकिर गरे उनले जाहेरवालाले अभियोगपत्रमा कसलाई रकम दिए भन्ने नै उल्लेख नभएको बताउँदै भने, ‘सबै खाली छ । यसैले पुष्टि गर्छ कि यो अभियोगपत्र हावादारी हो ।’
बधुबार बालकृष्णको पक्षमा बहस सकिएको छ । बुधबार नै वकिलहरुले हज कमिटी अध्यक्ष शमशेर मियाँको पक्षमा बहस गरे । त्यसपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाको पक्षमा बहस भएको थियो । तर, केही समयमै न्यायाधीश न्यौपानेले इजलास उठाए ।
आङटावाको पक्षमा बिहीबार पनि बहस हुनेछ । बिहीबार लक्ष्मी महर्जन र हरिभक्त महर्जन र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पक्षमा बहस हुनेछ ।
बिहीबार अभियुक्तहरुको पक्षमा बहस सकिएपछि सरकारी वकिलहरुले जवाफी बहस थाल्नेछन् । यदि बिहीबारै प्रतिरक्षा बहस सकिएमा न्यायाधीश न्यौपानेले मुद्दालाई थुनछेकको निर्णयतिर लैजाने छन् ।
सरकारी वकिलको जवाफी बहस बिहीबार भएमा त्यसपछि थुनछेक आदेश आउन सक्नेछ । यो प्रकरणमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ३० जनाविरुद्ध मुद्दाको फाइल अदालत लगेको छ । जसमध्ये १८ जना पक्राउ परेका छन् ।
बिहीबार सरकारी वकिलको जवाफी बहस सकिएमा न्यायाधीश न्यौपानेले शुक्रबारसम्म क–कसलाई थुनामा पठाउने, क–कसलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिन सक्ने छन् ।











