Logo
Logo

पर्यटनमन्त्रीले कोशीको ठाउँमा प्रदेश १ लेखेपछि…


34.7k
Shares

काठमाडौं । कोशी प्रदेश नामाकरणको विवाद संघीय संसदमा प्रवेश गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथि छलफल जारी छ ।

सो क्रममा संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले छलफलका लागि पेश गरेको पुस्तिकामा कोशीको नाम पुरानै १ नम्बर प्रदेश लेखेपछि विवाद भएको हो ।

एमाले सचेतक महेश बर्तौलाले संविधानसम्मत प्रदेशसभाको दुईतिहाइ बहुमतबाट जुराइएको नामलाई संघीय सरकारकै मन्त्रीले अस्वीकार गरेको भन्दै नियमापत्ति गरेका थिए ।

‘प्रदेश सभाको दुईतिहाइ बहुमतबाट पारित कोशी प्रदेशको नाम अस्वीकार गरेर पर्यटनमन्त्रीले नै किन १ नम्बर प्रदेश लेखे?’, उनले भने, ‘प्रदेशसभाको दुईतिहाइ बहुमतले पारित गरेको प्रदेशको नाम किन अस्वीकार गरिएको हो? यसलाई सच्याएर नल्याएसम्म यसबारे छलफल अघि बढ्न सक्दैन ।’

उनले यति गम्भीर विषयमा मन्त्रीले लापरबाही गरेको भन्दै सच्याएर नल्याएसम्म संसद् अघि बढ्न नदिने चेतावनी दिए ।
एमालेको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै पर्यटनमन्त्री किरातीलाई बोल्न समय दिएका थिए ।

मन्त्री किरातीले पुस्तिकाको पृष्ठ ११ देखि १८ सम्म कोशी प्रदेशको नाम १ नम्बर हुन गएको कुरालाई सच्याएर ल्याउने बताए । तर, एमालेले उक्त कुरा नसच्चिएसम्म उक्त मन्त्रालयको विषयमा छलफल नहुने अडान लिइरह्यो ।

एमालेको लगातार आपत्तिपछि सभामुख देवराज घिमिरेले उक्त कुरा सच्याएपछि मात्रै पर्यटन मन्त्रालयमाथिको छलफल अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्