काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारहरुले बजेट पैतृक सम्पत्तिजसरी विनियोजन गरेको आरोप लगाएका छन् । उनले कोशीबाहेकका ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट पैतृक सम्पत्तिजसरी विनियोजन गरेको आरोप लगाएका हुन् ।

एमाले नेतृत्वको सरकार रहेको कोशी प्रदेश सरकारको भने उनले बचाउ गरेका छन् । अध्यक्ष ओलीले आइतबार सातवटै प्रदेशका पार्टीका सांसदहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै यस्तो बजेटको प्रतिवाद गर्न निर्देशन दिए ।
अध्यक्ष केपी ओलीले भने, ‘देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्छ । तर, त्यसरी नबनाई सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित भएर बनाइएको छ । बजेट विनियोजन पैतृक सम्पत्तिजस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर दुरुपयोग गरेका छन् ।’
अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्नेगरी सशक्त विरोध गर्न निर्देशन दिएको प्रचार विभाग सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन ओलीले निर्देशन दिए । पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न भन्दै अध्यक्ष ओलीले कोशीबाहेकका प्रदेशको बजेट यथास्थितिमा पास गर्न लायक नरहेको बताए ।
सम्बोधनकै क्रममा उनले कोशी प्रदेश नामकरण र त्यसपछि उत्पन्न परिस्थितिका सन्दर्भमा पार्टीको धारणा राख्दै प्रदेशसभाको दुईतिहाईले विधिवत् ढङ्गले निर्णय गरेको कोशी नामाकरणलाई लिएर झमेला निकाल्न खोजिएको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढंगले नाम परिवर्तन हुँदैन । साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य हुँदैन ।’ कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र एमाले नेतृत्वको सरकार कायम रहने उनले दाबी गरे ।
बैठकमा प्रदेशसभा एमाले संसदीय दलका नेताहरूले आ–आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराएका थिए ।
बैठकमा कोशीका मुख्यमन्त्री हिक्मत कार्की, सुदूरपश्चिमका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णालीका संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, वाग्मतीका संसदीय दलका नेता जगन्नाथ थपलिया, मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश सरकारको नीति, कार्यक्रमबारे जानकारी गराउँदै धारणा राखेका थिए ।











