Logo
Logo

बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता


378
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वी नेपालमा असार २ गते आएको बाढीका कारण १० जनाको मृत्यु र २६ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

मंंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कोशी प्रदेशमा बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे जानकारी गराएका हुन् । सो कममा उनले बाढीका कारण ५४ घर पूर्ण रूपमा क्षति भएको र विवरण संकलन गर्ने काम भइरहेको बताए ।

कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर लगायतका जिल्लामा बाढी र पहिरोबाट मात्रै १० जनाको मृत्यु, ६ जना घाइते र हालसम्म २६ बेपत्ता भएका छन् । मन्त्री श्रेष्ठका अनुसार ५४ घर पूर्ण रुपमा क्षति भएको छ । उनले बेपत्ताहरुको खोजी कार्यलाई सरकारले तीव्रता दिएको बताए ।

उनले बेपत्ताहरुको खोजी, उद्धार र राहत वितरण कार्यमा स्थानीय निकाय, सडक विभाग, सुरक्षा निकाय, प्रदेश सरकार लगायतसँगको समन्वयमा परिचालन भइरहेको बताए ।

संखुवासभाको चैनपुर नगरपालिका भइ बग्ने हेवा खोला र पिलुवा खोलामा आएका बाढीका कारण उक्त खोलाका बस्तीहरु प्रभावित भएको उनले जानकारी दिए । चैनपुरस्थित सुपरहेवा हाइड्रोमा काम गर्ने १८ मजदुर र अन्य तीन स्थानमा काम गर्ने तीन गरी २१ जना वेपत्ता भएकामा तीन जनाको जिवितै उद्धार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार तीन जनाको उपचार भइरहेको छ भने एक जनाको शव भेटिएको छ । ताप्लेजुङमा तीन जनाको मृत्यु, तीन जना बेपत्ता र १ जना घाइते भएको विवरण प्राप्त भएको उनले बताए । त्यस्तै पाँचथरमा पहिरोबाट ३ जनाको मृत्यु, ३ जना बेपत्ता र १ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्