
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आज बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको जनाएको छ ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।
२ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोढ ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन भएको छ ।
जसअनुसार प्रतिसेयर १ सय अंकित दरले १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले असार गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।












