काठमाडौं । २०६७ सालमा उपत्यकामा प्रहरीले एउटा अनौठो खालको ठगी घटनाको अनुसन्धान ग¥यो । एक व्यक्तिले माओवादीका विभिन्न नेताहरूको नाममा बैंकका सिईओहरूलाई ठगी गरेका थिए ।

आफु माओवादीको नेता भएको भन्दै दुरुस्त आवाज निकालेर बैंकरहरुलाई फोन गर्दथे । समस्या परेको भन्दै केही रकम बैंक खातामै राखिदिन आग्रह गर्दथे । केही दिनमै त्यो पैसा फिर्ता पनि गर्दथे । फेरि केही दिनपछि थप रकम सापटी माग्थे ।
चर्चित नेताले बैंक खातामै पैसा मागेपछि बैंकरहरु पनि विश्वास मानेर दिन्थे । तर, ठूलो रकम लिएपछि ती व्यक्ति मोबाइल स्वीच अफ गरेर बेपत्ता भए । सम्बन्धित बैंकरले वास्तविक नेतालाई भेटेर गफ गर्दा आफुले फोन पनि नगरेको र पैसा पनि नमागेको बताएपछि मात्र यो ठगी धन्दा बाहिर आएको थियो । प्रहरीले निकै मेहनत गरेर त्यसरी ठगी गर्ने प्यूठान जिल्लाको भिमरुक घर भएका ईश्वरी प्रसाद पोखरेललाई पक्राउ गरेको थियो ।
पक्राउ परेपछि उनले प्रहरीसँग भनेका थिए, ‘मलाई माओवादी नेताहरूले दुःख दिएकाले प्रतिशोध लिन यसो गरेको हुँ ।’ नेताहरूको नामको नक्कली नागरिकता समेत बनाएर बैंक खाता खोली उनले त्यसरी नेताको नाममा पैसा असुलेका थिए ।
तर, प्रतिशोध लिन नभई नियत नै ठगी गर्ने देखिन्छ । किनकी उनै पोखरेल अहिले फेरि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई मंगलबार काठमाडौंमा पक्राउ गरेको हो । उनीविरुद्ध विभिन्न जिल्लामा ठगीका उजुरी छन् । त्यसयता उनी निरन्तर ठगी धन्दामा सक्रिय रहेका उनीविरुद्धका उजुरीले देखाउँछ ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा.मनोज केसी उनी ठगीका नटवरलाल भएको बताउँछन् । ‘अरुभन्दा फरक शैलीले उसले ठग्दै आएको छ,’ डा.केसी भन्छन्,‘पेशेवर ठग भएकाले हामीलाई पक्राउ गर्न पनि निकै गाह्रो भयो ।’
पछिल्लो समय उनले गौमुखी ग्रुप अफ इन्ड्रस्टिज र बागमती सप्लायर कम्पनीका नाममा ठगी गरेका हुन् । ती कम्पनीका नाममा खाद्यान्नदेखि निर्माण सामाग्रीको सस्तोमा बिक्रि गर्ने भन्दै पैसा लिएर ठगी गरी बेपत्ता हुने गरेका थिए । ह्वाट्सएप तथा फेसबुकमा बिज्ञापन गरी प्रचार गर्ने र बैंक खातामा पैसा हाल्न लगाई सामान नदिएर उनले ठगी गरेका हुन् ।
उनीविरुद्ध काठमाडौंसहित विभिन्न जिल्लामा ठगीका जाहेरी परेका छन् । अपराध अनुसन्धान कार्यालयमा तीन वटा जाहेरी छन् । चितवन प्रहरीले २३ माघमा नै उनीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरेको थियो । वैदेशिक रोजगार विभागले गत १ असारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी परिसर काठमाडौं, इलाका प्रहरी कार्यालय तुलसीपुरमा पनि जाहेरी दर्ता भएपनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । उनी कहिले भारत त कहिले नेपाल बस्ने गर्दथे ।
पछिल्लो १३ वर्षमा उनी ६ पटक ठगी मुद्दामा पक्राउ परेका छन् । २०६७ सालमा पक्राउ परेपछि छुटेकोमा त्यसको पाँच वर्षपछि फेरि काठमाडौंमै पक्राउ परे । त्यतीबेला ठगीका साथै उनीविरुद्ध बलात्कारको जाहेरी समेत परेको थियो । एक महिलालाई ठगी गर्नुका साथै यौन शोषण समेत गरेका थिए । त्यो मुद्दामा पनि उनी बयान फेर्न लगाई छुटेका थिए ।
२०७६ मा बैदेशिक रोजगार विभागले मुद्दा चलायो । २०७८ मा पनि ठगी र वैदेशिक रोजगारसम्बन्धि ठगीमा मुद्दा चले पनि उनी लामो समय थुनामा बस्नुपरेन । त्यतीबेला उनले आफु ठूला कृषि फर्मको सञ्चालक भएको भन्दै सामान किन्ने र चेक दिने गर्दथे । कार चढ्ने भएकाले व्यवसायीले पनि सहजै विश्वास गरेर चेकको भरमा सामान चिन्थे । खातामा पैसा हुँदैन थियो, पछि उनी बेपत्ता हुन्थे । वडा प्रहरी कार्यालय चन्द्रौटाले दुई वर्षअघि यस्तो ठगीमा उनलाई पक्राउ गरेको थियो । त्यतीबेला उनीविरुद्ध ठगीदेखि बैंकिङकसुरदेखि वैदेशिक रोजगार ठगी जस्ता मुद्दा परेपछि केही महिनामै छुटेर फेरि देशभरी ठगी गर्न भ्याएका हुन् ।
प्रहरीका अनुसार उनी भूतपूर्व भारतीय सैनिक हुन् । बिदामा नेपाल आउँदा आफुलाई २०५८ सालमा माओवादीले अपहरण गरेर युद्धमा लगाएको र त्यही बेलादेखि उनी ठगी धन्दामा समेत लागेको अनुसन्धानमा खुलेको छ ।














