Logo
Logo

पाँच दिने भ्रमणका लागि गृहमन्त्री चीन प्रस्थान


2.8k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन गएका छन् । गृहमन्त्री श्रेष्ठ मंगलबार राति ११:२० को उडानमार्फत चीनको छेन्दु प्रस्थान गरेका हुन् ।

बुधबार उनी ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ । उक्त मेलाको उद्घाटन गरी दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सोही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सहभागी हुने छन् । उनले शुक्रबार सिचुवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्ने छन् । उनले त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने छन् ।

त्यसपछि उनले विश्वविद्यालयको हाइड्रोलिक्सु र माउन्ट रिभर इन्जिनियरिङु प्रयोगशालाको अवलोकन गर्ने तालिका छ ।शनिबार भुकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित हाइड्रो जक्सन, दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११:१० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अंगरक्षक बाबुराम खरेल छन् ।

प्रतिक्रिया दिनुहोस्