
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारको ६ महिनाको कार्यप्रगति सुनाउँदै उनले जस्तोसुकै निराशावादी पनि श्रृलंकाको दुस्वप्नबाट बाहिर आइसकेको बताएका हुन् । आफुले नेतृत्व सम्हाल्दा नेपालको अर्थतन्त्र श्रृलंकाको बाटोमा गइरहेको र अहिले त्यो सुधार भएको भनाई थियो ।
‘हामीले सरकार सम्हाल्दा गम्भीर प्रकारका आर्थिक समस्या थियो । आम रुपमा एउटा भाष्य बनेको थियो–नेपालको नियति श्रृलंकाकोजस्तै हुनेभयो । यो भाष्य बौद्धि वर्गमा मात्र सीमित थिएन । आम नागरिकसम्म पनि पुगेको थियो,’ उनले भने, ‘टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रृलंकाको तस्बिरले सिंगो देशलाई आशंकित पारेको थियो। एक हदसम्म त्रसित बनाएको थियो। जतिसुकै निराशावादी पनि श्रृलंकाको दुस्वप्नबाट जागिसकेको छ ।’
यसलाई प्रधानमन्त्री प्रचण्डले सरकारको भन्दा पनि राष्ट्रकै उपलब्धीको रूपमा चर्चा गरे। अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्क भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।










