
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरूलाई संसद्ले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले सो प्रकरणमा मुछिएका मन्त्रीहरु र अन्य कर्मचारीहरुलाई पनि संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिनु पर्ने बताएका हुन् ।
सांसद सुवालले सरकारी जग्गा बेचविखनमा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए । ‘बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा १४३ रोपनी ६ आना अर्थात १३ अर्व ७६ करोड रुपैयाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरू पक्राउ परेका छन् । २०७८ पुस ६ गते जग्गा हिनामिनाको आरोपी २२० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएकोमा सरकारी वकीलको कार्यालयले ४ दिनपछि अनुसन्धान नटुंगिएको भनी फिर्ता पठाइएको थियो,’ उनले भने, ’गिरोहले २०४९ सालदेखि २०६७ सालसम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिगराई बेचविखन गरेको, यसमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु समेत संलग्न भएको सार्वजनिक भयो । यस विषयमा संसद्ले पूर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्ट गर्न लगाउन जरुरी छ । र अन्य पूर्वप्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गर्न जरुरी छ ।’
सांसद सुवालले सो जग्गा प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने काममा सरकारले ढिलाइ गर्न नहुने बताए ।










