
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।
खड्काले ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड जोड दिए।
उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैर आवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे। उपप्रधानमन्त्री खड्काले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने बताए।
उनले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए।विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए।
उपप्रधानमन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन समेत गैर आवासीय नेपालीहरुलाई आग्रह गरे।










