Logo
Logo

कोशीमा मुख्यमन्त्री को ?


9.1k
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाको एक जना सांसद छन् । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् ।

बहुमतका लागि दुबै पक्षलाई एक मत पुग्दैन । एक सिट नपुग्दा सरकार र प्रतिपक्ष दुबै अफ्ठेरोमा छन् । अहिलेको सरकार जोगाउन र नयाँ सरकार बनाउन दुवै पक्षलाई एक सिट आवश्यक पर्छ । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् । तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् ।

बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । यदि सभामुखले निर्णायक मत मुख्यमन्त्री कार्कीको विपक्षमा दिएको खण्डमा कोशीमा एमाले नेतृत्वको सरकार ढल्नेछ र नयाँ नेतृत्वको कसरत हुनेछ ।

तर, अहिलेसम्म विपक्षी गठबन्धनले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति गरेका छैनन् । प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र दुबैले आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गर्दै आइरहेका छन् ।

कांग्रेसले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ भने माओवादीले इन्द्र आङ्बोलाई अघि सारेको छ । यद्यपि गठबन्धनभित्र सहमति हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्