Logo
Logo
ललितानिवास प्रकरण

तीन आरोपितद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता


10.7k
Shares

काठमाडौं । ललितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन आरोपितले सर्वोच्च अदालत गुहारेका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबी गर्दै मिनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका छन्।

तीनै जनाले आफूहरु विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन् । हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ । तीनैजनाको निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । मंगलबार पक्राउ परेकामध्ये तीनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

ललितानिवास जग्गा अनियमिततामा मुछिएकामध्ये १७ जनाले १५ महिनाअघि नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर बसेका थिए । जसमध्येका ३ जना पक्राउ परेकै दिन गत मंगलबार रिहा भएका थिए ।

सर्वोच्च अदालत गएकामध्ये भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुरमाथि सरकारी कर्मचारीलाई प्रलोभनमा पारी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोप छ । साथै, उनीमाथि ‘सरकारी सार्वजनिक जग्गा मस्यौट गर्ने कार्यमा विचौलियाको भूमिका खेलेको’ आरोप छ ।

यस्तै, धर्मप्रसाद गौतममाथि नक्कली कागजात तयार पार्न सहयोग गरेको आरोप छ । चार वर्षअघि अख्तियारको अनुसन्धानले तयार पारेको प्रतिवेदन अनुसार उनले नक्कली मोही बनाई उनीहरुको नाममा जग्गा सारिदिए बापत नातेदारको नाममा जग्गा ‘घुस’ लिएका थिए । यस्तै, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहमाथि जग्गा अनियमितताका लागि विचौलियाको भूमिका खेलेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्