काठमाडौं । जनता समााजवादी पार्टी नेपाल (जसपा)का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको महाधिवेशन चाँडै हुने बताएका छन् । बिहीबार सञ्चारकर्मीसँग बस्नेतले उक्त कुरा बताएका हुन् ।

‘पार्टीको महाधिवेशन गर्नका लागि विधान अधिवेशनको आयोजना गरिएको हो । पार्टीको विधान अधिवेशन सम्पन्न भएको छ । अब महाधिवेशनको तयारीका लागि जति समय लाग्छ, त्यति अवधिभित्र महाधिवेशन हुन्छ,’ बस्नेतले भने । पार्टीको विधान अधिवेशन पार्टी एकताको अधिवेशन रहेको बताउँदै उनले भने, ‘महाधिवेशन पनि एकताको महाधिवेशन हुन्छ । यसले पार्टीलाई संस्थागत गर्दै लैजान्छ ।’
जसपाको विधानमा केन्द्रीय समिति महाधिवेशन आयोजक समिति हुने व्यवस्था छ । तर, महाधिवेशनमा प्रतिनिधि हुनका लागि तोकिएको कुनै क्षेत्रबाट निर्वाचित हुनुपर्ने भनिएको छ । महाधिवेशनबाट १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने पार्टीको विधानमा उल्लेख छ ।
जसपाको विधान अधिवेशन मंगलबार सम्पन्न भएको हो । विधानमा आएका सुझाव र निष्कर्ष समेटेर विधान प्रमाणीकरणका लागि जसपाले ६ सदस्यीय प्रमाणीकरण समिति बनाएको छ । विधान प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउने बताइएको छ ।










