Logo
Logo

कालोझण्डा देखाएपछि योगेश भट्टराईले जोडे मदन भण्डारीको प्रसङ्ग 


8.6k
Shares

काठमाडौं । पहिचानवादी आफूलाई कालोझण्डा देखाएपछि नेकपा एमाले सचिव योगेश भट्टराईले मदन भण्डारीको प्रसङ्ग जोडेका छन् ।

मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘आजको लोकतन्त्रः उपलब्धि र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी इलाम पुगेको भट्टराईलाई पहिचानवादीले कालोझण्डा देखाएको थियो । 

त्यसपछि सामाजिक सञ्जालमा एक स्टाटस राख्दै उक्त कार्यक्रमलाई बिथोल्न खोज्नु मदन भण्डारीको लागि नै लज्जा विषय भएको उनले बताएका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयं उहाँहरूका लागि पनि लज्जाको विषय हो ।’

उनले उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक आफूलाई मान्य नहुने र एमाले वार्ताको लागि तयार भएको पनि बताएका छन् । ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ ।  उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन,’ उनले भनेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’

पूर्वमन्त्री समेत रहेका भट्टराईले कालोझण्डा देखाउनेहरूका लागि आफू नै लडेर अधिकार दिएको बताएका छन् । उनले भनेका छन्– ‘एमाले फरक बिचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झन्डा देखाउनेहरूकाे अधिकारका लागि म स्वयं  र मजस्ता लाखौँले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरूले गर्नु भएकोमा लोकतन्त्रको सङ्घर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुति भएको छ ।’

पहिचानवादीले कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग राख्दै आएका छन् । केही समयअघि एमाले अध्यक्ष कोशी प्रदेश गएको बेला उनलाई पनि पहिचानवादीले कालोझण्डा देखाएका थिए ।

अध्यक्ष ओलीलाई कालोझण्डा देखाएपछि संसद्मा भट्टराईले एमाले नेताहरू हत्या गर्ने प्रयास गरेको भन्दै आक्रोश पोखेका थिए । साथै पहिचानवादीलाई उनले ‘गुण्डा’को संज्ञा समेत दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्