
विराटनगर । बिहीबार स्थगित भएको कोशी प्रदेश सभा बैठक सुरू भएको छ । बिहीबार राति बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेर बैठक स्थगित भएको थियो ।
आजको बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे मुख्यमन्त्री कार्कीले जवाफ दिँदैछन्। हिजोको बैठकमा छलफलका क्रममा आर्थिक विषय उठेका कारण तयारीका लागि सभामुखसँग समय मागेर प्रदेशसभाबाट बाहिरिएको मुख्यमन्त्री कार्कीले बताए ।
बिहीबारको प्रदेशसभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । आजको बैठकमा विश्वासको प्रस्तावमा मत विभाजन हुँदैछ ।
आजको प्रदेशसभा बैठकमा जनता समाजवादी पार्टीकी सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित भएकी छन्। कोशीमा जसपाकी लिम्बू एक्ली सांसद हुन् ।
गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्। उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन्।










