
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेश गरेको विश्वासको मतको प्रस्तावमा मत विभाजन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री कार्कीले हिजो (बिहिबार) बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमा मतदान सुरु भएको हो ।
नेकपा एमाले, राप्रपा र जसपासहितकाे समर्थनमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै जसपाका सांसद बाहिरिएपछि नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएकाे थियाे ।
जसपा र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । राप्रपा र एमाले मिल्दा मुख्यमन्त्री कार्कीलाई ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।










