काठमाडौं । ररकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदको विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

बैठकले असार २० गतेदेखि अजरवैजानको बाकुमा हुने असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय बैठक र असार १८ गतेदेखि सुरु हुने उच्च अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमो नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।
यस्तै, सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्त बनेको विधेयकको अवधारणापत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताइन् ।
बैठकले साउन ८ गतेदेखि अबुधावीमा हुने सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँर्चौ बैठकमा सहभागी हुन ऊर्जामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको उनले जानकारी दिइन् ।
पत्रकार सम्मेलनका सरकारका प्रवक्ता शर्माले सरकारको ध्यान सुशासनतर्फ केन्द्रीत रहेकाले कुनैपनि भ्रष्टाचारको प्रकरणका दोषीलाई उन्मुक्ती दिन नसकिने स्पष्ट पारिन् । यस्तै, अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने उनले बताइन् ।
पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताइन् । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीवार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताइन् ।
उनले भनिन्, ‘सरकारको तर्फबाट भन्दा कसैले पनि लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्ष पोषण गर्न पाउँछ, आफ्नो ठाउँमा छ तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्नेकुरा राम्रो कुरा होइन । त्यो गर्नु हुँदैन । अराजकतामा जानु हुँदैन, प्रदेशका मुख्यमन्त्री, सांसदहरुसँग छलफल गर्नुपर्छ । यसको निकास खोज्ने कुरामा हामी गम्भीर छौँ ।’
कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताइन् । केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै उनले नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने बताइन् ।










