
पोखरा । अर्थमन्त्री प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन् । शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महतले सो बताएका हुन् ।
मन्त्री महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’
‘हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई हामीले पूर्णरुपमा निषेध गरेका छौं,’ उनले भने ।
‘हाम्रो अर्थतन्त्रमा केही समस्या थिए, राजस्व कम उठिरहेको थियो । जनआकांक्षा बढ्दो छ, श्रोत साधन सीमित रहेको अवस्थामा हामीले बजेट प्रस्तुत गरेका हौं’, उनले भने, ‘अर्थतन्त्रको गतिशीलतामा समस्या आइरहेको थियो । लगानीको वातावरण राम्रो भइरहेको थिएन । बैंकमा व्याजदर बढी थियो ।’
यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनको भनाई छ । उनका अनुसार वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ भने पर्यटन व्यवसाय फस्टाउँदै गएको छ, जसकाकारण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको छ ।
बैंकको ब्याजदरमा पनि कमी हुन थालेको जनाउँदै उनले भने, ‘अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ भन्ने मलाई विश्वास छ, बजेट निर्माणमा धेरै चुनौति थिए, राजस्व अनुमानभन्दा धेरै कम उठेको थियो । वैदेशिक ऋणको ब्याज तिर्ने दायित्व बढ्दै गएको छ । अर्को वर्ष अझ बढ्छ । पूँजीगत खर्च धेरै विनियोजन गर्न सक्ने अवस्था थिएन । साउ ब्याज तिर्ने दायित्व र सामाजिक खर्च घटाउन नसक्ने अवस्था थियो ।’
‘नेपालमा पूँजीगत खर्च नहुने अर्को ठूलो समस्या आजको वास्तविकता भएको जनाउँदै अर्थमन्त्री महतले यस बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्ने जनाएका छन । ‘बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायतका कुराहरु हामीले बजेटमा उल्लेख गरेका छौं’ मन्त्री महतले भने ।
यसैका आधारमा पूँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई बैज्ञानिक बनाउने, भ्याटले हाम्रो राजस्वको दायरा बढिरहेको उनको भनाई छ । ‘पछिल्लो समय एकपछि अर्को मूल्य अभिवृद्धि कर हटाउँदै जाँदा पनि समस्या आयो । हामीले पुनः प्रवेश गराएका छौं’ उनले भने ।














