Logo
Logo

पर्यटनको विकास गरेर आर्थिकरुपमा सक्षम बन्न सकिन्छ : मन्त्री किराती


630
Shares

भोजपु्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिकरुपमा सक्षम बनाउन सकिने बताएका छन् ।

उनले सञ्चालन गरेको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृह जिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैँले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती शनिबार भोजपुर बजार क्षेत्रको सरसफाई गर्दै।

पर्यटकहरुलाई आकर्षित गर्नका लागि आफ्नो संस्कार, संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ । पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिकस्तरबाट अगुवाइ गर्नुपर्नेमा उनको जोड थियो ।

‘पर्यटनको विकासका लागि हाम्रो संस्कार र संस्कृतिको जगेर्नासँगै आफ्नो ठाउँलाई सफा सुन्दर र हरभरा बनाउन आवश्यक छ’, मन्त्री किरातीले भने, ‘हाम्रो सुन्दर देशलाई अझ सुन्दर बनाउने हाम्रो दायित्व हो, आफ्नो ठाउँको विकासका लागि हामीले हप्तामा दुई घन्टा समय दिन सक्यौँ भने त्यसले देश निर्माणमा पनि योगदान पुग्छ ।’ आफ्नो ठाउँमा पर्यटकलाई बसौँबसौँ लाग्ने बनाउन आवश्यक रहेको उनले बताए ।

आफ्नो घर अगाडि फोहर होइन फूल भन्ने अभियान सञ्चालन गर्नुपर्ने मन्त्री किरातीले बताए । यसका लागि नागरिकले हप्तामा दुई घन्टा श्रमदान गर्ने बानी बसाल्नुपर्ने उनको भनाइ छ । उनको अगुवाइमा जिल्ला अस्पतालसँगै बजार क्षेत्रको सरसफाइ गरिएको छ ।

सचेतनाका रुपमा सरसफाइ गरिएको भए पनि यसको निरन्तरताका लागि नागरिक आफैँ सचेत बन्नुपर्ने भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए । ‘मन्त्रीको उपस्थितिमा बजार क्षेत्रको सरसफाइ गरेका छौँ’, उनले भने, ‘तर एकदिन मन्त्री, नगर प्रमुखले सरसफाइ गरेर मात्र हुन्न, यसको निरन्तरताका लागि नागरिक सजक बन्न आवश्यक छ ।’

बजार क्षेत्रको सरसफाइका लागि नागरिकस्तरबाट अगुवाइ हुनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए । कार्यालयले सरसफाइका लागि आवश्यक सहयोग गर्नेे उनले प्रतिबद्धता जनाए ।

बजार क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन योजनाबद्धरुपमा सरसरफाइका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नागरिकले हप्तामा एक दिन श्रमदानको अभियान सञ्चालन गर्नुपर्ने प्रमुख सिंहले बताउनुभयो ।

एक दिनमात्र नभएर सरसफाइ अभियानलाई निरन्तरता दिन सबै अग्रसर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । यस्ता सन्देशमूलक कार्यक्रमले नागरिकको चेनतास्तरमा सुधार आउने उनको भनाइ थियो ।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालय, सुरक्षा निकाय तथा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । मन्त्री किरातीले जिल्ला अस्पातलको बिरामी कुरुवा घरको अनुमगन तथा परिसरमा वृक्षरोपणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्