Logo
Logo

पत्रकार कुट्ने डिएसपीको जागिर धरापमा


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, २ पुस ।
सागको रिपोर्टिङमा पुगेका पत्रकारलाई कुटपिट गर्ने नेपाल प्रहरीका डिएसपीको जागिर धरापमा परेको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो।

गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौरले उनलाई कुटपिट गरेका थिए ।

मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागाईंले दमनमा उत्रेका प्रहरीविरुद्ध कुटपिट मुद्दा दर्ता गरेका हुन्। मुलुकी अपराध संहितामा कुटपिट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। दोषी ठहर भएमा डिएसपीको जागिर जाने छ ।

साग खेलकुदमा डिएपी राठौर रुगम कुँवरको बल प्रयोगका कारण नेपाल प्रहरी मात्र होइन देशकै अन्तर्राष्ट्रिय बेइज्जत हुन पुगेको थियो । सामान्य विवादमा उनीहरुले सर्वसाधरण र पत्रकारमाथि निर्मम कुटपिट गरेका थिए ।

डिएसपी राठौरले डकैतीका अभियुक्तलाई छुटाएको घटनामा पनि छानबिन भइरहेको छ । केटी प्रयोग गरी पर्यटकलाई लुट्ने समूहको मुद्दा दुई सातामा बुझाउनुका साथै कमजोर मुद्दा बनाएर उनले आर्थिक चलखेल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्