काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ठूलठूला भ्रष्टाचारका फाइल खोल्न लागेको बताएका छन् । सोमबार माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लीग (वाईसीएल)को कार्यालय टीमसँग प्रधानमन्त्री प्रचण्डले आफ्नो दृष्टि निकै टाढासम्म भएको बताए ।

‘देश र जनतालाई वर्षौदेखि दुख दिने कोही पनि अब जोगिदैनन्, भ्रष्टाचारका ठूलठूला फाइल खोलिन्छन् । सरकार जनताको काम गरिरहेको छ । प्रचण्डबाट जनताले खोजेको अपेक्षा यतिमै सीमित छैन, मेरो कदम पनि रोकिँदैन’, प्रधानमन्त्री प्रचण्डको भनाई उधृत गर्दै वाइसियल अध्यक्ष सुबोध श्रीपालीले भने । उनका अनुसार प्रचण्डले सरकारले गरेको सबै कामहरू सुशासनको लागि गरेको प्रष्ट पारेका थिए ।
‘सरकार रहला/नरहला भन्ने कुराको चिन्ता छैन, किनभने एउटा विशिष्ट परिस्थितिमा व्यवस्था जोगाउन बनेको सरकार हो, गठबन्धनभित्र सबैको सुझाव लिएर अघि बढिएको छ,’ प्रधानमन्त्रीले भने । । अझै काम गर्न धेरै बाँकी रहेको उनको भनाई थियो । प्रधानमन्त्रीले युवाहरुलाई उत्पादनमा जोडिने निर्देशन पनि दिए । ‘स्थानीय तहसम्म युवाहरु उत्पादन जोडिनुपर्यो, तपाईँहरु खटिनुहोला,’ प्रचण्डको भनाईबारे वाईसीएल अध्यक्ष श्रीपालीको भनाई छ ।










