काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरे वापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको बताएका छन् ।

‘देश समृद्धि होस्, जनता सुखी रहून’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको अध्यक्ष ओलीको भनाई छ ।
सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए ।
अध्यक्ष ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरेका छन् । उनले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्याए ।
अध्यक्ष ओलीले देश र जनताको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठूलो प्राप्ति हुने गरेको बताए । उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दुर्गम ठाउँहरूको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भएपनि त्यसको श्रेय लिनुपर्छ भन्ने नलागेको बताए ।
अध्यक्ष ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए । त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए ।










